काठमाडौं: ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको निर्माणका लागि करिब १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ।

आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रालि. र सहभागी बैंकहरूको कन्सोर्टियमबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिप चन्द्र रेग्मी, क्रिष्टल पावर डेभलपमेण्टका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य तथा सहअगुवा र सहभागी बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

कुल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइमा बनेको कन्सोर्टियमले करिब १९ अर्ब रुपैयाँ लगानी गर्नेछ।

कन्सोर्टियममा सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक र प्रभु बैंक सहअगुवा बैंकका रूपमा रहेका छन् भने कृषि विकास बैंक र नेपाल एसबिआई बैंक सहभागी बैंकका रूपमा रहेका छन्।

बैंकहरूबीच भएको लगानी प्रतिबद्धताअनुसार ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन्।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने १६६ मेगावाट क्षमताको यस आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ।

सम्झौताअनुसार कुल लागतको ७५ प्रतिशत रकम बैंकहरूले लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत संस्थापक तथा अन्य लगानीकर्ताबाट जुटाइनेछ।

सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समयभित्र सम्पन्न भई मुलुकको ऊर्जा उत्पादन क्षमता वृद्धि, विद्युत् निर्यात प्रवर्द्धन तथा आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

निर्माण सुरु भएको मितिबाट पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय