काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा औषधीको सहज आपूर्ति सुनिश्चित गर्न औषधी व्यवस्था विभागसँग उच्चस्तरीय छलफल गरेको छ। पछिल्लो समय क्यान्सर विरुद्धका औषधी तथा ‘इम्युनोसप्रेसन्ट’ (Immunosuppressant) लगायतका जीवनरक्षक औषधीको अभावका सम्बन्धमा विभिन्न माध्यमबाट प्राप्त गुनासाहरूपछि मन्त्रालयले यो पहल लिएको हो।

मन्त्रालयमा आयोजित छलफलमा औषधीको वास्तविक मौज्दात, आपूर्तिमा देखिएका अवरोध र त्यसको तत्काल समाधानका उपायहरूबारे गम्भीर समीक्षा गरिएको छ।

छलफलका मुख्य बुँदाहरू:

  • आपूर्तिको अवस्था र गुनासा: क्यान्सर विरुद्धका र इम्युनोसप्रेसन्ट औषधीको आपूर्तिमा देखिएको समस्या र बजारमा देखिएको अभावको वास्तविक अवस्थाबारे विभागसँग विस्तृत जानकारी माग गरिएको छ।

  • आपूर्ति नगर्ने कम्पनीमाथि कारबाही: औषधी आपूर्तिको अनुमति पाएर पनि समयमा आपूर्ति नगर्ने आपूर्तिकर्ताहरूलाई कानुनी दायरामा ल्याउने तथा उनीहरू विरुद्ध चाल्न सकिने सबै विकल्पमाथि छलफल भएको छ।

  • डाटा र प्रतिवेदन माग: मन्त्रालयले औषधी व्यवस्था विभागलाई निम्न विवरणहरू तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ:

    • जीवनरक्षक औषधी (Life Saving Drugs) आयात गर्न अनुमति पाएका आधिकारिक आयातकर्ताहरूको सूची।

    • विगत ३ वर्षको औषधी आयातको तथ्याङ्क र वार्षिक खपतको विवरण।

    • नयाँ आपूर्तिकर्ताहरूबाट पेस भएका निवेदनहरूको अवस्था।

  • डिजिटल प्रणालीमा सुधार: औषधी व्यवस्था विभागको सफ्टवेयर प्रणालीलाई थप सुदृढ बनाउने, क्षमता विस्तार गर्ने र विभागको वेबसाइटमा विवरणहरू नियमित अद्यावधिक (Update) गरी पारदर्शी बनाउनुपर्ने विषयमा जोड दिइएको छ।

मन्त्रालयले औषधीको अभावमा कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ। विभागलाई निर्देशन दिइएका विवरणहरू प्राप्त भएपछि थप ठोस कदम चाल्ने मन्त्रालयको तयारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय