काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको औपचारिक निमन्त्रणामा पाँच दिने राजनीतिक भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ।
पत्नी निकिता पौडेल र पार्टीका सहमहामन्त्री विपिन आचार्यसहितको पाँच सदस्यीय टोलीसहित दिल्ली उड्नुभएका लामिछानेले त्यहाँ उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भनी संसदमा दिएको विवादित अभिव्यक्तिका कारण देशको राजनीति तातिएको र सीमा विवादबारे चौतर्फी बहस भइरहेको संवेदनशील समयमा हुन लागेको रास्वपा सभापतिको यस भ्रमणलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ भने उहाँ जेठ २२ गते स्वदेश फर्कने तालिका रहेको छ।



