काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता धवलशमशेर राणाले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन्।
आइतबार काठमाडौँको एक होटलमा राप्रपाका असन्तुष्ट नेताहरूसँगको विशेष छलफलपछि राणाले एक विज्ञप्ति जारी गर्दै ‘विश्वसनीय राष्ट्रवादी शक्ति’ निर्माणका लागि नयाँ अभियान सुरु गरेको घोषणा गरेका हुन्।

विगत चार वर्षदेखि राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास गरे पनि पार्टी सैद्धान्तिक द्विविधा र गलत बाटोमा हिँडेका कारण जनताबाट दण्डित भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
राप्रपाका साथीहरूसँग कुनै वैरभाव नरहेको स्पष्ट पार्दै राणाले देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू र नवयुवा पुस्तालाई आफ्नो नयाँ अभियानमा जोडिन हार्दिक आह्वान गरेका छन्।



