काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को २१ खर्ब आसपासको बजेट आकारमा ठुलो र महत्त्वाकाङ्क्षी भएको भन्दै भइरहेको आलोचनाको खण्डन गरेका छन्।
आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ७४ खर्ब ५८ अर्बको प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा यो बजेट जम्मा २८.५ प्रतिशत मात्र रहेकाले यो सानो र राज्यको क्षमता सुहाउँदो रहेको दाबी गरे।

विगतमा भूकम्प र कोभिडका कारण बजेटको आकार अस्वाभाविक रूपमा बढेर जीडीपीको ३७ प्रतिशतसम्म पुगेकोमा अहिले त्यसलाई घटाएर पुरानै यथार्थपरक लयमा फर्काएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले यो बजेट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्रका ५ खम्बाहरू— सदाचार, शिक्षा-स्वास्थ्य, रोजगारी सिर्जना, पूर्वाधार कनेक्टिभिटी र प्रवासी पुँजी परिचालनमा पूर्ण रूपले आधारित रहेको प्रस्ट पारेका छन्।



