काठमाडौँ: स्विट्जरल्यान्डको जेनेभामा आयोजित ७९औँ विश्व स्वास्थ्य सभा (WHA) मा ऐतिहासिक उपलब्धि हासिल गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता आज स्वदेश फर्कनुभएको छ।
नयाँ सरकार गठन भएपछि पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्नुभएकी मन्त्री मेहता यस वर्षको विश्व स्वास्थ्य सभामा उपाध्यक्ष (Vice-President) जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएको छ, जसलाई नेपालको स्वास्थ्य कूटनीतिमा एउटा ठूलो सफलता मानिएको छ।

मे १८ देखि २३ सम्म चलेको महासभामा उहाँले नेपालको स्वास्थ्य प्राथमिकता, महामारीको पूर्वतयारी, विश्वव्यापी स्वास्थ्य सेवामा समान पहुँच र जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो।
त्रिभुवन विमानस्थलमा मन्त्रालयका उच्च अधिकारीहरूबाट स्वागत पाउनुभएकी मन्त्री मेहताले सम्मेलनका क्रममा विश्व स्वास्थ्य संगठन (WHO) का पदाधिकारी र विभिन्न देशका मन्त्रीहरूसँग नेपालको स्वास्थ्य प्रणाली सुदृढ गर्नेबारे महत्त्वपूर्ण छलफल भएको र त्यहाँ गरिएका प्रतिबद्धताहरूलाई अब राष्ट्रिय नीतिमा जोडेर द्रुत गतिमा कार्यान्वयन गरिने बताउनुभएको छ।



