काठमाडौं: आगामी जेठ १५ गते सैनिक मञ्चमा आयोजना हुने गणतन्त्र दिवसको मूल समारोहलाई भव्य बनाउन काठमाडौँ महानगरपालिकाले तीव्र तयारी सुरु गरेको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा बसेको उपसमितिको बैठकले चुस्त व्यवस्थापनका लागि विभागगत जिम्मेवारी बाँडफाँड गरेको हो, जसअनुसार सम्पदा विभागले झाँकी र वातावरण विभागले सरसफाइको जिम्मा पाएका छन्।

जिन्सी शाखाले मञ्च सजावट, ५०० वटा बेलुन, ८ जोडी परेवा तथा नेपाली सेनाको हेलिकोप्टरबाट प्रदर्शन गरिने ३४ मिटर लामो ब्यानरको व्यवस्थापन गर्नेछ भने जेठ १४ गते बेलुका माइतीघरमा दीप प्रज्वलन समेत गरिनेछ।
सुरक्षा र आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य विभागले एम्बुलेन्ससहितको प्राथमिक उपचार टोली र विपद् व्यवस्थापन विभागले दमकल तैनाथ राख्ने निर्णय भएको उक्त बैठकमा नेपाली सेना, नेपाल प्रहरी, ललितपुर महानगरपालिका र उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।




