काठमाडौँ: काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रैथाने बहाल-बहिलहरू काठमाडौँको मौलिक संस्कृति र गौरवपूर्ण इतिहास भएको बताउनुभएको छ।

नेपाल मण्डल लिटरेचर कल्चरल ट्रष्टद्वारा आयोजित ‘बहाल-बहिल संस्कृति सामाजिक अध्ययन’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले लोप हुन लागेका यी ऐतिहासिक सम्पदाहरूको पुनरुत्थानका लागि महानगरपालिका हातेमालो गर्न तयार रहेको स्पष्ट पार्नुभयो।

महानगरभित्रका १६ वटा बहिलहरूमध्ये कतिपयको नाम मात्रै बाँकी रहेको र तिनको मौलिक संस्कृति, परम्परा एवं रीतिरिवाजको अभिलेख नासिँदै गएको प्रति डंगोलले चिन्ता व्यक्त गर्नुभयो।

सम्पदाको ऐतिहासिक र धार्मिक पक्षलाई जोगाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “काठमाडौँ महानगरपालिका बहाल–बहिलको पुनरुत्थान र पुस्तान्तरण गर्न चाहन्छ। त्यसका लागि के-के गर्नुपर्छ, तपाईँहरू ठोस योजना बनाएर आउनुस्, महानगर सहकार्य गर्न तयार छ।”

गोष्ठीमा ट्रष्टकी अध्यक्ष सन्ध्या बज्राचार्य सहित उपस्थित सम्पदा विज्ञहरूले लोप हुन लागेका बही संस्कृति, पुराना रीतिरिवाज र बौद्ध विहारहरूको ऐतिहासिक पक्षबारे गहन छलफल गरेका थिए।

विज्ञहरूले गुँला महिनामा गरिने ‘बही द्योः ब्वयेगु’ जस्ता अमूर्त परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सके काठमाडौँको सांस्कृतिक पर्यटनमा ठुलो टेवा पुग्ने सुझाव समेत दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय