काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचमै सदनबाट बाहिरिएपछि विपक्षी दलहरूले उनको आचरण र पोसाकमाथि कडा प्रश्न उठाएका छन् । प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गरे पनि सम्बोधन पूरा नहुँदै बैठक छाडेको विषयलाई विपक्षीले ‘अशोभनीय’ र ‘राष्ट्रिय मर्यादाविपरीत’ भएको टिप्पणी गरेका हुन् ।
एमाले सांसद गुरु बरालले संयुक्त सदनजस्तो राष्ट्रिय महत्वको कार्यक्रममा प्रधानमन्त्रीले राष्ट्रिय पोसाकको परिपालना गर्नुपर्ने बताएका छन् भने नेकपा प्रमुख सचेतक युवराज दुलालले राष्ट्रपतिले पढिरहेको नीति तथा कार्यक्रम नसुनी प्रधानमन्त्री बाहिरिनु ‘राष्ट्रिय लज्जाको विषय’ भएको बताएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीमा धैर्यता आवश्यक हुने भन्दै उनको व्यवहारलाई ‘केटाकेटीपारा’को संज्ञा दिएका छन् ।

यता रास्वपाले भने केही आकस्मिक परिस्थितिका कारण प्रधानमन्त्री आफ्नो कार्यकक्षमा गएको दाबी गर्दै दोस्रो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको स्पष्ट पारेको छ ।



