काठमाडौँ: श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा भएका ठगीका २७ हजार मुद्दाका फाइलहरू बेपत्ता भएको सनसनीपूर्ण खुलासा गरेका छन्।
बिहीबार संसदीय समितिमा बोल्दै मन्त्री यादवले २०६४ सालयता दर्ता भएका ४० हजार उजुरीमध्ये ठूलो संख्यामा फाइलहरू हराएको वा नष्ट भएको जानकारी दिएका हुन्।

मुद्दाको चाप अनुसार थप १० जना अनुसन्धान अधिकृत माग्दा समेत सरकारले उपलब्ध नगराएको भन्दै उनले कर्मचारी अभावकै कारण पीडितलाई न्याय दिन कठिन भइरहेको गुनासो गरे।
यद्यपि, आफ्नो २५ दिने कार्यकालमा करिब ५ करोड क्षतिपूर्ति भराउन सफल भएको दाबी गर्दै उनले अब ठगहरू विरुद्ध ‘सरप्राइज अपरेसन’ गर्ने र वैदेशिक रोजगारीको सम्पूर्ण प्रक्रियालाई डिजिटल प्रणालीमा लैजाने चेतावनी दिएका छन्।



