काठमाडौँ महानगरपालिकाको वडा नं. १९ स्थित कंकेश्वरी क्षेत्रमा २५७० औँ बुद्ध जयन्तीको अवसर पारेर १५ फिट लामो सिंहशैय्यासन प्रस्तर बुद्ध मूर्ति सार्वजनिक गरिएको छ।

करिब २८ लाख रुपियाँको लागतमा निर्माण गरिएको यस क्षेत्रलाई ‘बुद्ध पार्क’ नामाकरण गरिएको छ र यसलाई बालबालिका, युवा तथा ज्येष्ठ नागरिकमैत्री बनाउने योजना वडाले अघि सारेको छ।
वडाध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठका अनुसार पार्कको निर्माणभन्दा संरक्षण र व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले यसको दायित्व स्थानीयलाई हस्तान्तरण गरिने र वडाले अभिभावकको रूपमा संरक्षण प्रदान गर्ने रणनीति तय गरिएको छ।
मूर्ति अनावरण हुनुअघि स्थानीयले वडाका विभिन्न भागमा अस्थिधातु यात्रा गरी नमुना विहारमा विशेष पूजाआराधना समेत गरेका थिए।






