काठमाडौँ; राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख निर्वाचनको विषयलाई लिएर राप्रपालाई आफूले धोका नदिएको स्पष्ट पारेका छन्।
राप्रपा नेता ज्ञानेन्द्र शाहीले रास्वपासँगकै सल्लाहमा उम्मेदवारी दिएको बताएपछि उत्पन्न चर्चाबारे लामिछानेले राजनीतिक संवादलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए।

“ज्ञानेन्द्रजी मेरो राम्रो साथी हो, एउटा माघले मात्र जाडो जाँदैन,” उनले भने, “राजनीतिमा कहिलेकाहीँ अन्तिम समयमा निर्णय लिँदा अन्य धेरै फ्याक्टरले काम गर्छ, यसलाई धोका भन्न मिल्दैन।”
उनले राप्रपासँग अझै धेरै राजनीतिक सहकार्य गर्न बाँकी रहेको उल्लेख गर्दै आगामी दिनमा सँगै अघि बढ्ने ठाउँ सुरक्षित रहेको संकेत गरे।
राजनीतिक संवाद सबै दलसँग हुने र अन्तिम निर्णय प्रक्रियामा परिस्थितिजन्य कारणले फेरबदल आउनु सामान्य भएको उनको तर्क छ।



