काठमाडौँ; सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट र नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको भन्सार र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने ऐतिहासिक निर्णय समेत गरेको छ।
मन्त्री प्रतिभा रावलका अनुसार इन्धनमा भइरहेको अर्बौँको घाटा न्यूनीकरण गर्न मूल्य समायोजन र कर छुटको नीति लिइएको हो। सरकारले इन्धन जोगाउन जोर–बिजोर प्रणाली, आइतबार सार्वजनिक बिदा र विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने बताएको छ।

बैठकले लुम्बिनी विकासका लागि विश्व बैंकको ८५ मिलियन डलर ऋण स्वीकार गर्ने, काठमाडौँ–तराई द्रुतमार्गका लागि वन क्षेत्र प्रयोग गर्न दिने र नागढुङ्गा सुरुङमार्गका लागि जग्गा प्राप्ति गर्ने जस्ता महत्त्वपूर्ण पूर्वाधार सम्बन्धी निर्णयहरू पनि गरेको छ।




