काठमाडौं: आगामी धान रोपाइँको सिजन नजिकिँदै गर्दा देशभर रासायनिक मलको चरम अभाव हुन सक्ने भन्दै सांसद खुश्बु ओली ले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

पश्चिम एसियामा बढ्दो भू-राजनीतिक तनाव र द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि हुनुका साथै आपूर्ति शृङ्खला नै प्रभावित हुन सक्ने जोखिम देखिएको भन्दै उहाँले संसदमा तत्काल तयारी गर्न सरकारसँग माग गर्नुभएको हो।

संसदको बैठकमा बोल्दै सांसद ओलीले खेतीको समय नजिकिँदै जाँदा अन्तर्राष्ट्रिय संकटका कारण मलको मूल्य आकासिएको उल्लेख गर्नुभयो। उहाँले सरकारले समयमै पहल नगरे किसान प्रत्यक्ष मारमा पर्ने, कृषि उत्पादन घट्ने, खाद्य सुरक्षा कमजोर बन्ने र समग्र अर्थतन्त्रमा समेत गम्भीर असर पर्ने चेतावनी दिनुभयो।

सांसद ओलीले सरकारसँग देशमा हाल कति मल मौज्दात छ, रणनीतिक भण्डारण छ कि छैन, भए कति समयका लागि पर्याप्त छ भन्ने विषयमा श्वेतपत्र सार्वजनिक गर्न माग गर्नुभयो। साथै भविष्यमा सम्भावित संकट टार्न सरकारसँग के कस्तो ‘ब्याकअप प्लान’ छ भन्नेबारे पनि स्पष्ट जानकारी दिन आग्रह गर्नुभयो।

उहाँले संसदमा राख्नुभएका मुख्य मागहरू यस्ता छन्:

  • मल आयातका लागि सीमित स्रोतमा मात्र निर्भर नरही तत्काल वैकल्पिक अन्तर्राष्ट्रिय बजार खोजिनुपर्ने
  • संकटकालीन अवस्थाका लागि आवश्यक रणनीतिक मौज्दात र भण्डारण क्षमता बढाइनुपर्ने
  • कृषि मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच समन्वय गरेर कूटनीतिक तवरबाट मल आयात सुनिश्चित गरिनुपर्ने
  • मल अभाव भएमा किसानलाई प्रत्यक्ष राहत दिने गरी आकस्मिक योजना तयार पारिनुपर्ने

हरेक वर्ष बजेट विनियोजन भए पनि समयमै टेन्डर प्रक्रिया र ढुवानी व्यवस्थापन नहुँदा किसानले मल अभाव झेल्दै आएको उल्लेख गर्दै सांसद ओलीले यस वर्ष विश्वव्यापी संकटको बहानामा किसानलाई थप सास्ती नदिन सरकारलाई बेलैमा ठोस कदम चाल्न आग्रह गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय