काठमाडौँ; संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहसँग समन्वय गरी देखिएका समस्या समाधान गर्न सरकार सक्रिय रूपमा लागिरहेको बताएकी छन्।
मन्त्रालयमा गाउँपालिका तथा नगरपालिका महासंघका प्रतिनिधिहरूसँग भएको छलफलमा कर्मचारी व्यवस्थापन, फोहोरमैला नियन्त्रण, कार्यक्षेत्रको स्पष्टता तथा अनुदानसम्बन्धी विषयहरूमा विस्तृत बहस गरिएको थियो। सहभागीहरूले स्थानीय तहले भोगिरहेका व्यावहारिक कठिनाइहरू प्रस्तुत गर्दै समाधानका उपाय सुझाएका थिए।

नगरपालिका महासंघका अध्यक्ष भिम ढुंगानाले स्थानीय तहमा देखिएका चुनौती समाधानका लागि संघीय सरकारको थप सहयोग आवश्यक रहेको धारणा राखे। गाउँपालिकाका प्रमुखहरूले सुकुम्बासी व्यवस्थापन र भूमि सम्बन्धी समस्यामा विशेष ध्यान दिन आग्रह गरेका थिए।
त्यसैगरी, महालक्ष्मी नगरपालिकाकी उपप्रमुखले प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुखको नियमित सरुवा व्यवस्था आवश्यक रहेको उल्लेख गरिन्।
मन्त्री रावलले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिक सन्तुष्टि बढाउने दिशामा सरकार केन्द्रित रहेको बताइन्। उनले स्थानीय तहसँगको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरिन्।
छलफलमा सहभागी स्थानीय तहका पदाधिकारीहरूले मन्त्रालयबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका थिए।





