काठमाडौँ; नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले ‘जेनजी’ आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको नियतमाथि संसदमा सिधा प्रहार गर्नुभएको छ। बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदनको वैधता र पारदर्शितामाथि प्रश्न गर्नुभयो।
सांसद आङदेम्बेले भदौ २३ को दमन देख्ने तर २४ गतेको विध्वंश नदेख्ने आयोगको कार्यशैलीप्रति कडा आपत्ति जनाउनुभयो।

भदौ २४ गते संसद् भवन र सिंहदरबार जलिरहँदा आयोग किन मौन बस्यो भन्ने उहाँको प्रश्न छ। उहाँ भन्नुहुन्छ, “किन खरानी भयो संसद् भवन? कसले जलायो? यसको एक-एक हिसाब चाहिन्छ।”
सरकारलाई सुझबुझका साथ कदम चाल्न आग्रह गर्दै आङदेम्बेले भन्नुभयो, “जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्छ कि प्रधानमन्त्रीजीले पनि अरूले जस्तै गोरखापत्रमै पढेर थाहा पाउने हो?“ नेपाली कांग्रेस सधैँ दोषीलाई कारबाही र निर्दोषलाई न्याय दिने पक्षमा दृढ रहेको उल्लेख गर्दै उहाँले घटनाको एक-एक पक्ष केलाउन माग गर्नुभयो।



