काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिपक्षी दलहरूलाई आफू र आफ्नो पार्टीका सांसदहरूमाथि कडा निगरानी राख्न आग्रह गर्नुभएको छ। बिहीबारबाट सुरु भएको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले सत्ता पक्षमा भए पनि आफूहरू जबाफदेही बन्न तयार रहेको बताउनुभएको हो।
सदनमा सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाका सांसदहरूलाई उनीहरूको धरातल बिर्सन नहुने भन्दै सचेत गराउनुभयो। उहाँले भन्नुभयो, “हामी प्रश्न सोधेर यहाँसम्म आएका हौँ। आज बस्ने ठाउँ फेरियो होला (सत्ता पक्ष), तर जनताका ती प्रश्नहरूप्रति हाम्रो नैतिक जिम्मेवारी आज पनि उत्ति नै छ।” आफूहरू केवल समस्या देखाउन मात्र नभई, अब समाधान र जबाफ खोज्न आएको उहाँको दाबी थियो।

कुनै पनि पार्टीको टिकटबाट चुनिएर आए पनि संसदभित्र सबैले साझा जनप्रतिनिधिको रूपमा काम गर्नुपर्नेमा उहाँको जोड छ। जनताले दिएको विशाल बहुमतलाई खेर फालेमा इतिहासले धिक्कार्ने र आफूहरू कलङ्कित हुन मन्जुर नभएको उहाँले स्पष्ट पार्नुभयो।



