काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुढानिलकण्ठस्थित आफ्नै निजी निवासमा राष्ट्रिय सभा सदस्य महन्थ ठाकुर र आम जनता पार्टीका अध्यक्ष प्रभु साहसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ।
सभापति लामिछाने र राष्ट्रिय सभा सदस्य ठाकुरबीचको भेटमा वर्तमान राजनीतिक परिस्थिति, मधेसको विकास र सरकारले प्राथमिकतामा राख्नुपर्ने योजनाहरूका बारेमा छलफल भएको छ। पछिल्लो जनादेशको मर्मलाई आत्मसात् गर्दै देशको समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने विषयमा दुवै नेता एकमत देखिएका छन्।

यसैगरी, आम जनता पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहसँगको भेटमा अध्यक्ष साहले सभापति लामिछाने र रास्वपालाई बधाई ज्ञापन गर्नुभएको छ। भेटका क्रममा सभापति लामिछानेले सरकारले मधेसलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो, जसप्रति अध्यक्ष साह हर्षित देखिएका छन्। देश र विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले सोहीअनुरूप पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा दुवै नेताबीच छलफल केन्द्रित रहेको छ।
मधेसका समस्या समाधान र विकासका योजनाहरूलाई केन्द्रमा राखेर भएको यस भेटघाटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।




