काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्नो इन्जिनियरिङ तथा मर्मत सम्भार सेवालाई विस्तार गर्दै नयाँ प्रविधि सञ्चालनमा ल्याएको छ ।
निगमले बिहीबारदेखि ‘म्याग्नेटिक पार्टिकल इन्स्पेक्सन’ सेवा सुरु गरेको हो । यो एक प्रकारको ‘नन–डिस्ट्रक्टिभ टेस्ट’ हो । निगमको दाबी अनुसार यो प्रविधि सञ्चालनमा आएपछि यस्तो परीक्षणका लागि बाह्य कम्पनीमा पठाउँदा लाग्ने खर्च बचत हुनेछ ।

साथै निगमले यो सेवा अन्य वायुसेवा कम्पनीहरूलाई पनि उपलब्ध गराएर अतिरिक्त आम्दानी गर्ने लक्ष्य लिएको छ । नयाँ सेवाको सुरुवातसँगै निगम जहाजका ह्विल तथा ब्रेक युनिटको मर्मतमा प्रयोग हुने तीन वटा एनडीटी प्रविधिमा आत्मनिर्भर बनेको छ । 



