काठमाडौं, जीवनका लागि गीता ज्ञान अभियान, नेपालको आयोजनामा सञ्चालित गीतामयी अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगितामा आँचल बसेल प्रथम हुनुभएको छ । प्रतियोगिताको अन्तिम चरणको लागि ‘उत्कृष्ट जीवनको लागि गीताको मार्गदर्शन’ भन्ने विषयक खुला प्रतियोगितामा वाग् गुरुकुलम् गौरीघाट काठमाडौंकी छात्रा बसेल प्रथम हुनुभएको हो ।


अन्तिम चरणको प्रतियोगितामा सहभागी १३ जना प्रतियोगीहरुमध्ये श्री जी महर्जन द्वितीय हुनुभएको छ भने रिया जोशी तृतीय हुनुभएको छ । यस्तै, भावना जोशी र कर्मशिखा जोशीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः २० हजार रुपैयाँ, १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र सान्त्वनाले ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन त्यसैगरी अन्य ८ जना प्रतियागीले प्रोत्साहन पुरस्कार स्वरुप १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

असार १९ गते देखि असार २१ गते सम्म पहिलो चरणको छनौट कार्यक्रम सम्पन्न गरेर शुक्रबार बेलुका ७ बजे जुम मार्फत प्रतियोगिताको फाइनल कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।
गीता फर लाइफका राष्ट्रिय संयोजक योगाचार्य सुरेन्द्र ओझाको अध्यक्षतामा सञ्चालन यस प्रतियोगिताको निर्णायक मण्डलमा विद्वान व्यक्तित्व आचार्य देवेन्द्र घिमिरे गीता फर लाइफका अन्तर्राष्ट्रिय संयोजक विद्वान व्यक्तित्व डाक्टर दीर्घराज जोशी र विद्वान व्यक्तित्व डा. लक्ष्मी गौतम रहनुभएको थियो । प्रतियोगिताको फाइनल कार्यक्रममा विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति पनि रहेको थियो ।

यस कार्यक्रमको पुरस्कारका लागि अध्यात्मिक व्यक्तित्व तथा गीता फर लाइफका सदस्य गोकुल थापा र आध्यात्मिक व्यक्तित्व राकेश अग्रवालले आर्थिक सहयोग गर्नुभएको छ । त्यसैगरी यस कार्यक्रमलाई प्रविधिमैत्री बनाउनका लागि डाक्टर एलिना बस्नेतले निःशुल्क रुपमा जुम सहयोग गर्नुभएको छ । त्यसैगरी यस कार्यक्रमलाई सफल बनाउन धर्मप्रसाद पौडेलले आर्थिक सहयोग गर्नुभएको छ । यस कार्यक्रमलाई गीता फर लाइफका राष्ट्रिय सहसंयोजक सुदिप पौडेल र आध्यात्मिक व्यक्तित्व डाक्टर नम्रता पाण्डेले सञ्चालन गर्नुभएको थियो ।
गीतामयी अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिता सफल बनाउन गीता फर लाइफका संकल्पकर्ता डाक्टर हरिचन्द्र कमाली, समाजसेवी तथा आध्यात्मिक व्यक्तित्व गोकुल थापा, अधिवक्ता सानुभाइ खड्का, विद्वान व्यक्तित्व डा.माला खरेल, गीता फर लाइफका मिडिया संयोजक सञ्चारकर्र्मी जनक महरा, योगमाला सृजना मैनाली र शिक्षक डम्बरबहादुर लुइटेल लगायतको योगदान रहेको छ ।




