इन्दिरा निरौला, कांग्रेस नेत्री

हाम्रो देश नेपाल दुनियाँमा एउटा अनौठो पहिचान बोकेको भूमि हो जहाँ किसानको पसिनाले भिजेको माटोमा पनि सुखको सुगन्ध फैलिन्छ। तर विडम्बना, जहाँ ८३५ जमिन कृषि योग्य छ, त्यही माटोमा उब्जिएको सपना अझै पनि परदेशको चामल कुर्दै बस्नुपरेको छ। यो केवल तथ्य होइन, यो हाम्रो साझा विडम्बना हो, हाम्रो मौन आँसु हो।

आज असार १५ धान रोप्ने दिन, खेत र माटोको उत्सवको ऐतिहासिक क्षण हाम्रा पिता पुर्खाको जीवन यही माटोमै गढिएको थियो।रोपाइँको भाका, गोरुको ईमान्दारीता, पानीले भरिएको खेत, र हलोका रेखाहरूले कोरिएको भविष्य। यी सबै नेपाली अस्तित्वका आधारशिला हुन्।

तर आजको कटु यथार्थ के हो भने, यही असार पन्ध मनाउने हामी जो कहिल्यै भकारी रित्तिन नदिने स्वाभिमानी कृषकका सन्तान हौँ।आज आफ्नो थालमा परदेशी चामल सजाउँदै बसिरहेका छौँ। कृषि प्रधान देशमा कृषकहरू रुँदै हलो छोडेर बिदेसिन बाध्य छन्, माटोको साटो भिसा जोत्न थालेका छन्।

हामीलाई अब परम्पराको मात्र होइन, प्रविधिको पनि साथ चाहिन्छ। गोरुको ठाउँमा ट्र्याक्टर, परम्परागत अभ्यासको ठाउँमा वैज्ञानिक योजना, अनि किसानको पसिनासँगै नीतिगत दृष्टिकोण आवश्यक छ। यदि हामीले माटोलाई प्रविधिसँग जोड्न सक्यौँ भने आत्मनिर्भरता केवल सपना रहने छैन, त्यो हाम्रो भविष्यको साँचो बाटो बन्न सक्छ।

धान दिवसको यही घडीमा हामी सबैले आत्म समीक्षा गर्न आवश्यक छ। अब पनि नजाग्ने हो भने भोलिका पुस्ताले धान रोपाइँका कथा त सुन्लान्, तर त्यो गीत, त्यो माटोको सुगन्ध, त्यो आफ्नोपन कहिल्यै अनुभूत गर्न पाउने छैनन्।

नेपाललाई खाद्यमा आत्मनिर्भर बनाउनु भनेको केवल उत्पादन बढाउनु मात्र होइन।त्यो किसानको सम्मान, माटोको पूजा र हाम्रो पहिचानको जगेर्ना हो।

देशभरका सम्पूर्ण किसान दाजुभाइ, आमाबुवाहरूप्रति असार १५ को हार्दिक शुभकामना। एक चोटि फेरि माटोको आत्मामा फर्कौँ। कृषि आधुनिक बनाऔँ, र भोकमुक्त, आत्मनिर्भर नेपाल बनाऔँ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय